काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बसन्तपुरमा आयोजित इन्द्रजात्रामा राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत व्यक्तिगत रूपमा गरेका छन्। तर, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतको क्रममा मेयर शाह उपस्थित देखिएका छैनन्।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए।
गत वर्षको इन्द्रजात्रामा अनुपस्थित रहेका मेयर शाह यस पटक भने बसन्तपुर पुगेका थिए।
इन्द्रजात्रा प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा धूमधामका साथ मनाइन्छ। उपत्यकाबासीले यस पर्वलाई विशेष महत्वका साथ मनाउने भएकाले काठमाडौं महानगरपालिकाले बसन्तपुरमा विशेष तयारीका साथ कार्यक्रम सञ्चालन गर्दै आएको छ।
परम्पराअनुसार इन्द्रजात्रामा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तिहरूको सहभागिता हुन्छ। आयोजकका अनुसार, काठमाडौं महानगरका मेयर र उपमेयरले उनीहरूको स्वागत गर्ने परम्परा रहिआएको छ।
प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार











प्रतिक्रिया