काठमाडाैं । इजरायली सेनाले गाजा सहरका बासिन्दालाई शनिबार योजनाबद्ध आक्रमणअघि त्यस क्षेत्र छोड्न निर्देशन दिएको छ। सेनाले आक्रमणको समयसीमा नतोकेको भए पनि तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

सैन्य प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जालमार्फत गाजाको दक्षिणी तटमा रहेको अल-मवासी क्षेत्रमा जान निर्देशन दिएका छन्। सेनाका अनुसार अल-मवासीमा खाना, शिविर, औषधि, पानी र घुम्ती अस्पतालसहितका सुविधाहरू उपलब्ध छन् र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा राहत कार्य जारी रहनेछ।

advertisement

सुरुमा इजरायलले अल-मवासीलाई सुरक्षित क्षेत्र घोषणा गरे पनि हमास लडाकुहरू नागरिकको बिचमा लुकेको भन्दै त्यहाँ बारम्बार आक्रमण गरिरहेको छ। यसले गर्दा स्थानीय बासिन्दाहरूले दोहोरो आक्रमणको डरमा रिमल क्षेत्रको एउटा शिविरमा शरण लिइरहेको बताइएको छ।

गाजा सहर वरपर इजरायली सेनाले आफ्नो कारबाही बढाएको छ। हमासले गत महिना अस्थायी युद्धविराम र चरणबद्ध बन्धक मुक्तिको प्रस्तावमा सहमति जनाएको थियो। तर, इजरायलले भने सबै बन्धकलाई एकैपटक रिहा गर्न र अन्य सर्तसहित निःशस्त्रीकरणको माग गरेको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका बन्दीहरूको विषयलाई लिएर अमेरिका हमाससँग ‘गम्भीर वार्ता’ मा रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार गाजा सहर र वरपर करिब १० लाख मानिसहरू छन् र आक्रमण जारी रहे ‘प्रकोप’ निम्तिने चेतावनी दिएको छ।

इजरायलले आक्रमणले १० लाख मानिसहरूलाई विस्थापित गर्ने अपेक्षा गरेको बताएको छ।

प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com