काठमाडौं । सरकारले प्रतिबन्ध लगाएका सामाजिक सञ्जाल प्रयोग गरेको समाचार सत्तारूढ नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि जोडिएको छ ।
देउवाले हिजो फेसबुकमार्फत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रममा आफ्नो सम्बोधनसम्बन्धी तस्बिरसहित पोस्ट गरेका थिए ।
उक्त पोस्टमा सयौँ प्रतिक्रिया आएका छन्, जसमा धेरैजसो नकारात्मक टिप्पणी छन् । तीमध्ये काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को टिप्पणी विशेष चर्चामा छ ।
साहले देउवाको पोस्टमा कटाक्ष गर्दै, भीपीएनमार्फत सामाजिक सञ्जाल चलाउनुपर्ने बाध्यता र त्यसका कठिनाइबारे व्यंग्य गरेका छन् । उनले लेखेका छन्,
‘यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी ? भीपीएनबाट चलाउन त सारै गाह्रो हुने रहेछ !!’
यसरी मेयर साहको प्रत्यक्ष टिप्पणीले देउवाको पोस्ट मात्र नभई सरकारको सामाजिक सञ्जाल प्रतिबन्धसम्बन्धी कदममाथि पनि चासो र बहसलाई फेरि तातेको छ ।
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार











प्रतिक्रिया