काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल बन्द गर्नु समाधानको उपाय नभएको बताएका छन्।
पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले सामाजिक सञ्जाल आज नेपाली जनताको ‘दुःखसुखको साथी’ बनेको भन्दै यसको मूल्य र महत्त्व बुझ्नुपर्ने आवश्यकता औंल्याए।
केसीले सामाजिक सञ्जाललाई केवल राजनीतिक दृष्टिले मात्र नहेरी यसको सामाजिक उपयोगिता पनि आत्मसात् गर्नुपर्ने बताए। उनका अनुसार विपद्को बेला सूचना आदानप्रदान, बिरामीको उपचारका लागि सहयोग जुटाउने जस्ता काममा सामाजिक सञ्जालले ठूलो योगदान पुर्याएको छ।
‘संसारका धेरै देशमा सामाजिक सञ्जाल दर्ता भएका छन्। तर नेपालमा अझै दर्ता नहुनु दुर्भाग्यपूर्ण हो। यस विषयमा गम्भीर छलफल गरेर समाधान निकाल्नुपर्छ,’उनले भने।
सांसद केसीले सामाजिक सञ्जाल बन्द गरिएको निर्णयले आम नागरिकमा असन्तोष चुलिएको उल्लेख गर्दै छिट्टै व्यावहारिक समाधान निकाल्न सरकारसँग आग्रह गरे। साथै, कांग्रेस अभिव्यक्ति स्वतन्त्रता जस्तो संवैधानिक अधिकारलाई कमजोर पार्ने कुनै पनि कदमप्रति मौन बस्न नसक्ने स्पष्ट पारे।
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार













प्रतिक्रिया