काठमाडौं । अभिनेता अनमोल केसीले जेनजी पुस्ताले सोमबार आयोजना गर्न लागेको भ्रष्टाचारविरोधी प्रदर्शनप्रति ऐक्यबद्धता जनाएका छन्। उनले फेसबुकमार्फत सन्देश जारी गर्दै सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयासको खुलेआम आलोचना गरेका छन्।
केसीले नेपाली नागरिक चुपचाप बस्ने नसक्ने चेतावनी दिँदै लेखेका छन्, ‘सामाजिक सञ्जाल रोक्ने, सिर्जनशीलता र आवाजलाई दबाउने प्रयास भए अझ ठूलो स्वरमा प्रतिवाद हुनेछ। हाम्रो अधिकार कसैले खोस्न सक्दैन, हाम्रो आवाज दबिँदैन।’
उनका अनुसार नेपाली नागरिकको आवाजलाई बेवास्ता गर्नु दुर्भाग्यपूर्ण हुनेछ। सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले चिन्ताजनक अवस्था सिर्जना गरेको उल्लेख गर्दै उनले एकता, शान्ति र दृढताका साथ उभिन सबैलाई आह्वान गरेका छन्।
अनमोलले आफ्नो पोस्टमा #आवाजउठाउनेपुस्ता, #जेनजेडकोसंघर्ष र #भोलिकोभेलाहाम्रोभविष्य जस्ता ह्यासट्यागसमेत प्रयोग गर्दै आगामी आन्दोलनमा समर्थन व्यक्त गरेका छन्।
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार













प्रतिक्रिया