काठमाडौं । भोलि थापाथलीस्थित माइतीघर मण्डलामा जेन–जेड पुस्ताले गर्ने आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईं सहभागी नहुने भएका छन्।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध जेन–जेडले तीनबुँदे माग अघि सार्दै शान्तिपूर्ण प्रदर्शन गर्न लागेको हो। ती मागमा बिनासर्त सामाजिक सञ्जाल पुनः सक्रिय गरिनु, पुराना नेताहरूले फेरि प्रधानमन्त्री नबन्ने प्रतिबद्धता जनाउनु, र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनीतिक भागबन्डामार्फत आयुक्त नियुक्त नगर्नु भन्ने छन्।
यसअघि प्रसाईंले फेसबुकमार्फत आन्दोलनमा सहभागी हुने घोषणा गरेका थिए। तर उनको घोषणापछि जेन–जेडका सक्रिय सदस्यहरूले आपत्ति जनाउँदै, प्रसाईं उपस्थित भए ‘Not Allowed’ लेखिएको ब्यानर देखाउने निर्णय गरेका थिए।
आन्दोलनका तयारीस्वरूप बसेको बैठककै बीच प्रसाईंले जेन–जेडका एक प्रतिनिधिलाई फोन गरी आफू नआउने बताएका हुन्। बैठकमा सहभागी एक सदस्यका अनुसार उनले भने, ‘म भोलि आउँदिनँ भाइ हो, आन्दोलन राम्रोसँग गर्नू।’
जेन–जेडले भोलि बिहान ९ बजेदेखि माइतीघर मण्डलामा भेला भई शान्तिपूर्ण आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार













प्रतिक्रिया