नयाँ दिल्ली । भारतको पञ्जाब राज्यमा आएको बाढीको संकट अझै नघटेको छ । शनिबारको बाढीले क्षतिग्रस्त बनाएका चार जिल्लाका बाँधहरूको मर्मत–सम्भार आइतबार पनि निरन्तर जारी रह्यो। यस कार्यमा भारतीय सेना र एनडीआरएफका टोली सक्रिय रूपमा खटिएका छन्।
बाढीले पञ्जाबका २३ जिल्लाका करिब २ हजार ५० गाउँहरू प्रभावित बनाएको छ। हालसम्म ३ लाख ८७ हजार ८९८ जना घरबारविहीन भएका छन् भने २० लाखभन्दा बढी मानिस प्रत्यक्ष असरमा परेका छन्।
राज्यभर बाढीका कारण हालसम्म ४८ जनाको ज्यान गएको पुष्टि भएको छ। पठानकोट जिल्लामा तीन जना अझै बेपत्ता छन्। कृषि क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ, अहिलेसम्म करिब १ लाख ७६ हजार ९८०.०५ हेक्टर जमिनमा रहेका बाली बाढीले नष्ट गरेको तथ्यांक सार्वजनिक गरिएको छ।
यसबीच, पञ्जाब सरकारले सेप्टेम्बर ८ देखि विद्यालय, कलेज, विश्वविद्यालय, पोलिटेक्निक संस्थान र आईटीआई सञ्चालन गर्ने निर्णय गरेको छ। तर, बाढी प्रभावित क्षेत्रमा भने सम्बन्धित उपायुक्तको निर्णयअनुसार शैक्षिक संस्थान बन्द रहनेछन्।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया