काठमाडौं । सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध शनिबार सडकमा उत्रिएका जेनजी युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो च्यातेका छन्।
माइतीघर मण्डलाबाट सुरु भएको र्याली नयाँबानेश्वरतर्फ अघि बढ्ने क्रममा बबरमहलस्थित नेपाल टेलिकम कार्यालय अगाडि पुगेका प्रदर्शनकारीहरूले पोलमा टाँसिएको ओलीको तस्बिर झिकेर च्यातेका हुन्।
भ्रष्टाचार र बेथितीको विरोधमा स्वतःस्फूर्त रूपमा जुटेका युवाहरूको जुलुसलाई नयाँबानेश्वरमा प्रहरीले ब्यारिकेड राखी रोकेको थियो। त्यहाँ प्रदर्शनकारीहरूले सरकारविरुद्ध तीव्र नाराबाजी गरेका थिए।
राष्ट्रिय झण्डा बोकेका युवाहरूले “असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ”, “जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ”, “स्वतन्त्र आवाज हाम्रो अधिकार”, “स्टप करप्सन” जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शनमा देखिएका थिए। कतिपय विद्यार्थीहरू स्कुल–कलेजको पोशाकमै आन्दोलनमा सहभागी भएका थिए।
प्रदर्शनकारीहरूले राजनीतिक दलका कार्यकर्ता वा नेताहरूलाई कार्यक्रममा सहभागी नगराउने स्पष्ट घोषणा गरेका छन्। साथै, उनीहरूले तोडफोड, आगजनी वा सार्वजनिक सम्पत्तिमा क्षति नपुगाउने, सभ्य ढंगले प्रस्तुत हुने र नागरिक अधिकार तथा स्वतन्त्रताको पक्षमा उभिने प्रतिवद्धता सार्वजनिक गरेका छन्।
सुरक्षा निकायले सम्भावित घुसपैठको आशंका गर्दै संवेदनशील क्षेत्रमा प्रहरी बल थप तैनाथ गरेको छ।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया