काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेन–जी युवाहरूको प्रदर्शन काभिन सकिँदै गएपछि नयाँबानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोलीमा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन् ।
सोमबार दिउँसो माइतीघरबाट सुरु भएको विरोध जुलुस क्रमशः संसद् भवन परिसरसम्म पुग्दा भिड नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले बल प्रयोग गरेका थिए । भिड नियन्त्रण गर्ने क्रममा पत्रकार श्रेष्ठको पाखुरामा गोली लागेर घाइते भएको पुष्टि गरिएको छ ।
कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख रूपेश श्रेष्ठका अनुसार श्याम श्रेष्ठ घटनास्थलमै समाचार दृश्य खिचिरहेका बेला आकस्मिक रूपमा गोली लागेको हो । अहिले उनी सिभिल अस्पतालमा उपचाररत छन् र स्वास्थ्य अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी आएको छ ।
प्रदर्शनकारीहरू संसद् भवन परिसरभित्रै पसेपछि वातावरण अत्यन्त तनावपूर्ण बनेको थियो । प्रहरीको प्रयासबाट पनि भिड नियन्त्रणमा नआएपछि स्थिति नियन्त्रण गर्न गोली चलाइएको हो । यो घटनाले संसद् भवनको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी आन्दोलनबीचको टकरावलाई अझ संवेदनशील बनाएको छ ।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया