काठमाडौं । जेन–जी आन्दोलनका क्रममा १८ जनाको मृत्यु भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सत्तारूढ दल नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सुरु भएको छ।
बैठकमा सरकारको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखक पनि सहभागी छन्। दुवैजना बैठक स्थलमा पुगिसकेको स्रोतले जनाएको छ।
यस बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री तथा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसहित शीर्ष नेताहरूको उपस्थिति रहेको छ। तर उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ भने काठमाडौंबाहिर भएकाले सहभागी हुन नसकेको स्रोतले जानकारी दिएको छ।
जेन–जी आन्दोलनमा ठूलो मात्रामा भएको मानवीय क्षति र प्रहरी दमनका घटनापछि गृहमन्त्रीको राजीनामाको माग चर्किँदै गएको अवस्थामा सभापति देउवाले आकस्मिक बैठक बोलाएका हुन्। एक नेताले बताएअनुसार, गृहमन्त्रीको जिम्मेवारी र पार्टीको आगामी कदमबारे पनि यस बैठकमा गम्भीर छलफल हुनेछ।
देउवाले यसअघि पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग आफ्नै निवासमा अलग्गै परामर्शसमेत गरेका थिए।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया