काठमाडौं । जेनजी प्रदर्शनमा भएको प्रहरी दमनको जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।
प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर देशभर १९ जनाको मृत्यु भएको छ भने करिब तीन सयजना घाइते भएका छन् । बढ्दो जनदबावका बीच लेखकले गृहमन्त्री पद त्यागेका हुन् ।
तर, मात्र गृहमन्त्रीको राजीनामाले नपुग्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासमेत माग उठ्न थालेको छ । यसमा सत्तारूढ दल एमालेभित्रका कार्यकर्तासमेत सहभागी भएका छन् ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष विकास श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । उनले लेखेका छन्, “देश र जनता भन्दा माथि कोही हुँदैन, देश रह्यो भने हामी पनि रहन्छौं।”
श्रेष्ठको मागलाई अनेरास्ववियुका अन्य सदस्यहरूले पनि समर्थन गरेका छन् । उनीहरूले #StepDownPM अभियान चलाउँदै सामाजिक सञ्जालमा ‘कालो दिन’ भन्दै प्रोफाइल परिवर्तन गरिरहेका छन् ।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया