काठमाडौं । जेन–जी आन्दोलनमा भएको सरकारी दमनपछि उत्पन्न परिस्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले संयमता अपनाउन सबैलाई आह्वान गरेका छन्।
मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने कार्यबाट टाढा रहन आग्रह गर्दै दीर्घकालीन सुधार र सकारात्मक परिवर्तनतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्।
घिसिङले भनेका छन्, ‘प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा अब संयमित भएर अघि बढ्ने समय आएको छ। सार्वजनिक सम्पत्ति हाम्रो करबाट बनेको हो र पुनर्निर्माणमा पनि यही स्रोत खर्च हुने भएकाले यसलाई जोगाउन सबैलाई अनुरोध गर्दछु।’
उनले आन्दोलनमा संलग्न युवा पुस्ता, नागरिक समाज र संस्थाहरूप्रति धैर्य, आत्ममूल्यांकन र सहकार्यको भावनासहित अघि बढ्न अपिल गर्दै विधिसम्मत र विवेकपूर्ण बाटो रोज्नुपर्ने सुझाव दिएका छन्।
घिसिङले मध्यमावधि निर्वाचनमार्फत नयाँ राजनीतिक निकास दिनुपर्ने आवश्यकता औंल्याउँदै भनेका छन्, ‘जेन–जीसहितको अन्तरिम चुनावी सरकार गठन गरेर मात्रै वर्तमान संकटलाई पार गर्न सकिन्छ। यो अन्धकारलाई चिर्दै उज्यालो नेपाल सम्भव छ, हामी सबै मिलेर यसलाई सार्थक बनाउन सक्छौं।’
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया