काठमाडौं । जेन-जी प्रदर्शनकारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा रहेका सबै अदालतहरूमा आगजनी गरेका छन् ।
पार्टी सभापति लामिछानेलाई केपी ओली नेतृत्वको सरकारले अनाहकमा दुख दिएको भन्दै रविका समर्थकहरूले खोजी-खोजी ती जिल्ला अदालतहरूमा आगजनी गरेका हुन् ।
प्रदर्शनकारीले काठमाडौं जिल्ला अदालतभित्र रहेको मिसिलको सम्पूर्ण फाइल र अदालतको भौतिक संरचनामा आगजनी गरेर ध्वस्त पारिदिएका छन् ।
सिराहा र सप्तरी जिल्ला अदालत पनि आगजनीबाट ध्वस्त भएको छ । जिल्ला अदालत रौतहटमा तोडफोड तथा आंशिक आगजनी गरिएको छ ।
मकवानपुर जिल्ला अदालत र सँगै रहेको सर्वोच्च अदालतको डाटा सेन्टर पनि आगजनीबाट ध्वस्त भएको छ । त्यसैगरी चितवन जिल्ला अदालत पनि आगजनीबाट ध्वस्त पारिएको छ । त्यहाँका मिसिल, इजलास आदि केही बाँकी नरहेको बुझिएको छ ।
बाँके जिल्ला अदालतमा बुधबार अपराह्नसम्म पनि आगो बलिरहेको छ । रुपन्देही जिल्ला अदालतमा पनि तोडफोड, भौतिक संरचना पूरै ध्वस्त र गाडीमा आगजनी गरिएको छ ।
रुपन्देहीमा बुधबार बिहान कैदी बन्दी बाहिर आएर अदालतमा आगजनी गर्नुका साथै अदालतका अधिकांश मिसिल र राय किताब समेत बाहिर ल्याएर जलाएका छन् । चितवन जिल्ला अदालत पनि ध्वस्त पारिएको छ र त्यहाँ कुनै तथ्यांक बाँकी रहेको छैन ।
कास्की जिल्ला अदालतमा पनि आगजनी गरी सम्पूर्ण मिसिल नष्ट गरिएको । पर्सा जिल्ला अदालतमा पनि आगजनीको प्रयास भएको थियो, यद्यपि त्यहाँ नेपाली सेनाले सुरक्षा दिएर क्षति हुनबाट जोगाएको छ ।
काठमाडौं बाहिर जुन जुन जिल्ला अदालतमा आगजनी भएका छन्, ती सबैजसो अदालतहरूमा रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दा रहेको थियो ।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया