काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३,३ सय कैदीबन्दी फरार भएका छन्।
कारागारमा जम्मा ३,८ सय कैदीबन्दी थिए, तर फरारपछि हाल करिब ५ सयकै हाराहारीमा मात्रै कैदीबन्दी बाँकी रहेका छन्। स्रोतका अनुसार भद्र बन्दी गृहमा करिब १००, महिला बन्दी गृहमा करिब १०० र सेन्ट्रल कारागारमा करिब ३०० कैदीबन्दी मात्रै रहेका छन्।
भद्र बन्दी गृहमा रहेका टोपबहादुर रायमाझी पनि फरार भएको जनाइएको छ। उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा थिए।
सुरक्षाका स्रोतका अनुसार, केही फरार कैदीबन्दी भने कारागार फर्किन थालेका छन्। अहिलेसम्म करिब ५० जना कैदीबन्दी कारागारमा फर्किसकेको जानकारी छ। अझै केही फरार कैदीबन्दी फर्किन प्रक्रिया जारी रहेको छ।
सूत्रका अनुसार, नख्खु कारागारबाट निस्किएका कैदीबन्दीहरूले राति करिब १० बजे सुन्धारा कारागारमा तोडफोड गरेका थिए। त्यसपछि सुरक्षाका लागि खटिएको नेपाल प्रहरी त्यहाँबाट फर्केर आर्मी हेडक्वाटर पुगेको थियो। त्यसपछि मात्रै नेपाली सेना कारागारमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो।
यस घटनामा करिब ३,३ सय कैदीबन्दी फरार भएको पुष्टि भएको छ।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया