काठमाडौं । मंगलबार प्रदर्शनकारीहरूले देशभर राज्यका तीन वटै अंगका भवन र महत्वपूर्ण सरकारी कार्यालयमा आगजनी गर्दा राष्ट्रिय सम्पत्तिमा अकल्पनीय क्षति पुगेको छ।
अध्यता जगत नेपालका अनुसार, राज्यका महत्वपूर्ण दस्तावेजहरू जलेर नष्ट हुनु मुलुकको लागि ठूलो आघात हो। उनले भने, “वि.सं. २०३० साल असार २४ गते सिंहदरबारमा आगलागी भएको थियो, त्यो समय आगलागी अन्जानवश भएको भनिन्थ्यो। तर यसपटक सिंहदरबार जलेपछि राज्य अस्तित्वहीन जस्तो देखियो। आगो लगाउने भए पनि निभाउने कोही भएन।”
नेपालले आगलागीको पूर्वसावधानी नागरिकस्तरमा भएको भए पनि राज्यले पर्याप्त सुरक्षा नदेखाउनु गम्भीर कमजोरी भएको टिप्पणी गरेका छन्। उनका अनुसार, यस घटनाको मूल्य देशले युगौँसम्म भोग्नुपर्ने छ।
विशेषज्ञका अनुसार, विगतमा सिंहदरबार जलेको समयमा सुगौली सन्धिसँग सम्बन्धित दस्तावेज जलेको भन्ने चर्चा थियो। यसपटक पनि कति महत्वपूर्ण कागजात जलेका हुन् भन्ने अनुमान बाहिर आएको छैन।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रधानमन्त्रीको सरकारी निवास, राष्ट्रपति निवास शीतल निवास र सर्वोच्च अदालतमा रहेका ऐतिहासिक फैसला तथा कागजातहरू पनि जलेका छन्।
अध्यता नेपाल भन्छन्, सरकारी भवन त पुनर्निर्माण हुन सक्छ, तर जलेका ऐतिहासिक र महत्वपूर्ण कागजात फिर्ता आउँदैनन्। मुलुकको ऐतिहासिक र प्रशासनिक स्मृति ठूलो क्षति भएको छ।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार












प्रतिक्रिया