काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (ईयू)लाई चीन र भारतमाथि अधिकतम १०० प्रतिशत कर लगाउन अपिल गरेका छन्।

बीबीसीले आफ्नो स्रोतको हवाला दिँदै जनाएको छ कि यो अपिल ट्रम्पको युक्रेनमा युद्ध अन्त्य गराउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाब बढाउने रणनीतिको हिस्सा हो। अमेरिकी र ईयू अधिकारीहरूबीच रुसमाथि आर्थिक दबाब बढाउने विकल्पमा छलफल भइरहेका बेला मंगलबार ट्रम्पले यो प्रस्ताव गरेका थिए।

सबैभन्दा पहिला फाइनान्सियल टाइम्सले यसबारे रिपोर्ट गरेको थियो। युक्रेन–रुसबीचको संघर्ष जारी रहँदा ट्रम्पले शान्ति सम्झौता गर्न प्रयास गरिरहेका छन्।

यता, रुसले युक्रेनमाथि आक्रमण तीव्र बनाएको छ। ट्रम्पको प्रस्ताव अघि अमेरिकी अर्थमन्त्री स्कट बेसान्टले अमेरिका आर्थिक दबाब बढाउन तयार रहेको बताएका थिए, तर यसका लागि युरोपेली समर्थन आवश्यक छ। ट्रम्पले यो वा अर्को हप्ताको सुरुवातमा पुटिनसँग फोन वार्ता गर्ने योजना रहेको पनि बताएका छन्।

त्यसैगरी, भारत–अमेरिका व्यापार वार्ता निरन्तर जारी रहेको र आगामी हप्ताहरूमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने योजना रहेको ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनले भनेका छन्, ‘भारत र अमेरिका घनिष्ठ मित्र तथा प्राकृतिक साझेदार हुन्। मलाई विश्वास छ कि हाम्रो व्यापार वार्ताले भारत–अमेरिका साझेदारीको ठूलो सम्भावना अघि बढाउनेछ।’

प्रधानमन्त्री मोदीले पनि यसबारे सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com