काठमाडौं। नेपाली कांग्रेसले देशका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका मूल स्तम्भमा समेत भएको आगजनी अत्यन्त गम्भीर घटना भएको जनाएको छ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार जारी गरेको विज्ञप्तिमा मंगलबार मात्रै भएको क्षतिपछि १० वर्षे माओवादी द्वन्द्वको बेला भन्दा पनि बढी नोक्सानी पुगेको जानकारी दिएका छन्।

advertisement

प्रवक्ता महतले भने, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत संरचनामा आगो लागेको गम्भीर संकेत हो। यससँगै मेरो र अरू धेरैको घर, निजी सम्पत्ति, उद्योग–व्यवसाय, सञ्चार गृहमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ।’

विज्ञप्तिमा उल्लेख छ कि देशभर भएको हिंसात्मक गतिविधि शान्तिपूर्ण लोकतान्त्रिक विरोधको उद्देश्य र मर्मविपरीत भएको छ। उनले थपे, ‘देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नवयुवाहरूले यस्ता घटना चाहेका होइनन्।’

नेपाली कांग्रेसले अब राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति, सुरक्षा र अमनचयन कायम गर्नुपर्नेमा जोड दिएको छ।

यस्तो छ प्रवक्ता डा. महतको विज्ञप्तिको पूर्णपाठ-

हालै नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद घटना भएकोप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ ।  धेरै युवाहरू र केही सुरक्षाकर्मीहरूले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैका लागि अत्यन्त दुखदायी छ, मृतकहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै विरोध प्रदर्शन क्रममा भएको धनजनको ठुलो क्षति प्रति गम्भीर चिन्ता प्रकट गर्दछु ।

हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको छ । देश,जनता र लोकतन्त्र प्रति प्रतिबद्ध नवयुवाहरूले अवश्य पनि यस्तो चाहेका थिएनन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ । म लगायत धेरैको घर निजी सम्पत्ति, उद्योग व्यावसाय, सञ्चार गृह लगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादीद्वन्द्व को बेला भन्दा धेरै बढी हो । यसले लगानीको वातावरण लाई पनि बिगारेको छ र क्षतिपूर्ति गर्न वर्षौँ र ठुलो लगानी लाग्ने निश्चित छ । त्यस्तै, पार्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेताहरू माथि भएको साङ्घातिक आक्रमणको घोर निन्दा तथा भर्त्सना गर्दछु ।

देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा छ । राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी छ । 

प्रिय साथीहरू,

कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन । यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ । लोकतान्त्रिक प्रक्रियाको पुनः स्थापना र संरक्षणका लागि हामी सबै फेरि सक्रिय हुन आवश्यक छ । नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दो शक्ति हो भन्ने कुनै दुबिधा छैन । पार्टीले अन्य लोकतन्त्र र संविधान प्रति प्रतिबद्ध दलहरूसँग तत्काल संवाद गर्न आवश्यक छ । त्यसैले शान्ति, सुरक्षा, संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनः स्थापनाका लागि राष्ट्रपति ज्युको अगुवाइमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्न आवश्यक छ । 

जय नेपाल !

डा प्रकाश शरण महत 

  प्रवक्ता

नेपाली कांग्रेस

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com