काठमाडौँ । जेनजी आन्दोलनका क्रममा हालसम्म घाइते हुनेको संख्या ६३३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररतमध्ये ३८७ जना डिस्चार्ज भइसकेका छन् भने १९६ जना अझै अस्पतालमै भर्ना छन्। घाइतेमध्ये ५० जनालाई अन्य अस्पतालमा सारिएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म २५ जनाको मृत्यु भएको छ।
दुई दिनअघि देशव्यापी प्रदर्शनपछि राजधानीका सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरलगायत अस्पतालमा घाइतेको चाप बढेपछि अन्य बिरामीको स्वास्थ्य सेवा प्रभावित भएको थियो।
पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार हिजोदेखि ओपीडीमा बिरामी आउन कम भए पनि सबै सेवा सञ्चालनमा छन्। उनले हालसम्म पाटनमा जेनजी प्रदर्शनका क्रममा घाइते ३३ जनाको उपचार गरिएको र कम्तीमा ६–७ जनाको सफल शल्यक्रिया भइसकेको जानकारी दिए।
राष्ट्रिय ट्रमा सेन्टरमा मंगलबारको प्रदर्शनमा घाइते भएका ४० जना सहित हाल ६७ जना उपचाररत छन्। तीमध्ये ७ जनाको अवस्था गम्भीर छ र आईसीयूमा उपचार भइरहेको छ। सोमबार मात्र त्यहाँ २७ घाइते भर्ना भएका थिए भने ८ जनाको मृत्यु भएको थियो। ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालका अनुसार घाइतेको उपचारलाई प्राथमिकता दिँदै जनशक्ति दोब्बर पारेर ड्युटी भइरहेको छ।
यस्तै त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार हाल ४४ जना घाइते उपचाररत छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले आईसीयूमा राखी उपचार भइरहेको छ।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया