काठमाडौं । गायिका कोमल वलीले आफ्नो आत्मसम्मान र देशप्रतिको माया कसैले नष्ट गर्न नसक्ने स्पष्ट पारेकी छन्। जेन–जि आन्दोलनको नाममा उनका सपना, पसिना र संघर्षलाई ध्वस्त पार्ने प्रयास गर्नेहरूलाई कहिल्यै भलो नहुने उनको भनाइ छ।

वलीले आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन्। उनले निर्दोष बालबालिका र आमाबाबुले अनावश्यक रूपमा ज्यान गुमाउँदा आफूमा गहिरो पीडा लागेको र त्यो पीडा लिएर जीवित रहेको बताइन्।

advertisement

उनले आफ्नो सपना र प्रयासको कथा सुनाउँदै भनिन्, ‘सेवामूलक सानो होटल सञ्चालन गरेर गाउँमा रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने र सबैलाई समृद्धिको बाटोमा अघि बढाउने चाहना थियो। मेरो होटल केवल मेरो मात्र होइन, गाउँको रगत र पसिनासँग जोडिएको थियो। बीस वर्षअघि रेडियो नेपालमा गीत गाएर कमाएको पारिश्रमिकले किनेको जग्गामा आज मेरो पसिना र ऋणसँग जोडिएको सपना ध्वस्त बनाइयो।’

कोमल वलीले आफ्नो जीवनको यात्राबारे पनि प्रकाश पारिन्। ‘म सामान्य परिवारकी हुँ, तर इमानदार। बाल्यकालदेखि नै खेलाडी र गायिका बनेर प्रतिभा देखाएँ। गीत गाएर छात्रवृत्ति पाएँ, कक्षा १० सम्म पढेँ र अध्ययन निरन्तरता दिइरहेँ। रेडियो नेपालमा पुरस्कृत भएँ, समाचार वाचनमा आदर्श बन्ने अवसर पाएँ। करिब १८ वर्ष सेवा गरेर देश–विदेशमा मेरो स्वरमार्फत् नेपाललाई चिनाएँ। २०७४ सालमा राष्ट्रिय सभामा निर्वाचित भई चार वर्षे कार्यकालभर सबैको सेवा गर्ने प्रयास गरें।’

उनले आफ्नो जीवन सदैव इमान र निष्ठामा अडिएको र कहिल्यै भ्रष्टाचार नगरेको पनि स्पष्ट पारेकी छन्।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com