काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले संविधान जिवितै राख्दै नयाँ सरकार गठन गर्नु आवश्यक रहेको बताएका छन्।
जेन–जि आन्दोलन र त्यसपछिको परिस्थितिका बारेमा बिहीबार जारी विज्ञप्तिमार्फत खनालले संविधानको सम्मान गर्दै सरकार गठन गर्नुपर्ने जोड दिएका छन्। उनले उदाहरणस्वरूप भने, ‘श्रीलङ्कामा केही वर्षअघि तत्कालीन शासकहरूलाई जनआन्दोलनले सत्ता छोड्न बाध्य पारे पनि संविधान नध्वस्त गरेर नयाँ सरकार बनाइएको थियो। चुनावपछि नयाँ र अपेक्षाकृत युवा नेतृत्व स्थापित भयो।’
खनालले जेन–जिलाई निष्को राजनीतिको भ्रममा नपर्न आग्रह गर्दै सबै पक्षसँग संवाद र सहकार्य मार्फत समाधान खोज्नुपर्ने बताएका छन्। ‘पद र सत्ता क्षणिक हुन्छन्, तर व्यक्तिगत, सामूहिक र राष्ट्रिय सुरक्षाको विषय बढी महत्वपूर्ण हुन्छ,’ उनले भने।
उनले संविधानमा सुधार आवश्यक भए पनि त्यसको प्रक्रिया जनताले चयन गरेका प्रतिनिधिहरूमार्फत मात्र हुनु पर्नेमा जोड दिएका छन्। ‘जननिर्वाचित संविधान सभाले बनाएको संविधान संशोधन जनताको प्रतिनिधिले मात्र गर्न सक्ने प्रक्रिया अपनाउनुपर्छ। लोकतन्त्रले यही मार्ग देखाउँछ।’
खनालले हिंसाबाट प्राप्त शक्ति लामो समय टिक्ने कुरा नभएको भन्दै अहिंसात्मक मार्ग अपनाउनुपर्ने बताए। ‘जति नै बलियो देखिए पनि हिंसाबाट प्राप्त शक्ति स्थायी हुँदैन। सामूहिक एकता र अहिंसाको बाटो हाम्रो मार्ग हो। आन्दोलनमा मारिएका वा घाइते मात्र हैन, गाउँ–गाउँमा घर जलाइएका परिवारको सुरक्षा र संरक्षण पनि हाम्रो जिम्मेवारी हो। यस आवाजलाई हामीले अगाडि बढाउनुपर्छ।’
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया