काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले पछिल्ला आन्दोलनले देशलाई भौतिक क्षति पुर्याएको र लोकतन्त्र नै संकटमा पर्न सक्ने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले पटक–पटक भएका आन्दोलन र परिवर्तनले जनजीवनमा सुधार ल्याएको भए पनि पुराना दलहरूले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको कारण समस्या झन् गहिरिँदै गएको उल्लेख गरेका छन्।
उनका अनुसार ‘GenZ’ को आन्दोलन नियण्त्रण बाहिर गएपछि कैदीहरूलाई भगाउने नियोजित योजना सफल भएको र सर्वोच्च अदालत तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आगजनी गरेर ठूला भ्रष्टाचारीलाई बचाउने अवसर मिलाइएको छ।
बस्नेतले बन्ने अन्तरिम सरकारले ऊर्जा र जोस–जाँगर भएका, तर भ्रष्टाचारको कलंक नलागेका नेताहरूलाई अघि सारेर पुनर्निर्माण अभियान अघि बढाउनुपर्नेमा जोड दिएका छन्। उनले राज्य संयन्त्रलाई सकेसम्म चाँडो सुचारु गर्नुपर्ने र लोकतन्त्र, संविधानवाद, विधिको शासन र स्वतन्त्र न्यायपालिकामाथि चोट पुग्न नदिनुपर्ने बताएका छन्।
उनले विदेशी योजनाअनुसार अराजक भिड परिचालित भए लोकतन्त्र समाप्त भई राजतन्त्र पुनःस्थापित हुने षड्यन्त्रको बाटो खुल्ने चेतावनी दिएका छन्। बस्नेतले भने, ‘देश हार्न हुँदैन, सबै सचेत हुनुपर्छ र आवश्यक परे संघर्षका लागि तयार हुनुपर्छ।’

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया