काठमाडौं । जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै मुख्य चार राजनीतिक दलका युवा नेताहरू संयुक्त छलफलमा जुटेका छन्।
सूत्रका अनुसार, नेपाली कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, नेकपा एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदी तथा रास्वपाबाट सोबिता गौतम र शिशिर खनाल भर्चुअल संवादमा सहभागी छन्।
चार दलका आन्तरिक छलफलपछि भएको यस संयुक्त भर्चुअल बैठकमा तीन मुख्य निष्कर्ष तय भएको छ:
१. राजनीतिक दलहरूले आत्मसमीक्षा गर्नुपर्छ।
२. जेन–जीका माग सम्बोधन हुनुपर्छ।
३. मुलुकलाई पश्चगमनमा फर्काउने कुनै प्रयास भए त्यसविरुद्ध प्रतिवाद गर्नुपर्छ।
छलफलमा सहभागी एक नेताका अनुसार यी निष्कर्ष जनतालासम्म प्रभावकारी रूपमा प्रवाह गर्न राजनीतिक गतिविधि अघि बढाउने समझदारी समेत भएको छ।
बैठकमा जेन–जीको सुशासन र भ्रष्टाचार नियन्त्रणको मागलाई सम्मान गर्दै आवश्यक नीति र निर्णयहरू बनाउने सहमति भएको छ। साथै, मुलुकमा राजा वा सैन्य शासन फर्काउने प्रयास भए त्यसविरुद्ध प्रतिवाद गर्ने प्रतिवद्धता सबैले व्यक्त गरेका छन्।
तर नयाँ सरकार गठनको विषयमा भने दलहरू बीच एउटै मत बनेको छैन। संसदभित्रकै सदस्यबाट प्रधानमन्त्री बनाउन सकिन्छ कि सकिँदैन भन्ने विषयमा आ–आफ्ना बुझाइ रहेका छन्। संसदभन्दा बाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकिने विगतको अभ्यास र वर्तमान अवस्था मूल्याङ्कन भएको भए पनि यसमा स्पष्ट निष्कर्षमा अझै पुगिएको छैन।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया