काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न राजनीतिक संकटको समाधान संविधानको दायराभित्र रहेर खोजिनुपर्ने बताएकी छन्।

बिहीबार विज्ञप्ति जारी गर्दै उनले राष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको समन्वयमा वैधानिक प्रक्रियामार्फत नयाँ मन्त्रिपरिषद गठन गर्नुपर्ने सुझाव दिइन्।

advertisement

उनले भनिन्, ‘प्रधानमन्त्रीको राजीनामापछि वर्तमान सरकार कामचलाउ अवस्थामा छ। तर संविधानले सुनिश्चित गरेका राष्ट्रपति र जननिर्वाचित संसद् विद्यमान छन्। त्यसैले वैधानिक प्रक्रियाबाटै नयाँ सरकार गठन गर्नुपर्ने हुन्छ।’

भण्डारीले सामाजिक सञ्जाल प्रतिबन्ध हटाउन, भ्रष्टाचार अन्त्य गर्न र सुशासन स्थापना गर्न उठेको जेनजी आन्दोलनले १९ युवाको ज्यान गुमाएपछि देशभर भड्किएको हिंसा, आगजनी र तोडफोडले मुलुक स्तब्ध बनेको उल्लेख गरिन्। उनले यस्ता संवेदनशील घडीमा संविधानको मर्मअनुसार अघि बढ्न सबैलाई आग्रह गरिन्।

युवा पुस्ताको आन्दोलनलाई लोकतान्त्रिक मूल्य–मान्यतासहित सही दिशातर्फ अघि बढाउन आवश्यक रहेको औंल्याउँदै उनले हिंसा र तोडफोडबाट राज्य तथा सम्पदामा पुगेको क्षतिको गम्भीर छानबिन गर्न सम्बद्ध पक्षहरूलाई आह्वान गरिन्।

साथै, उनले सामाजिक सञ्जाल बन्दले निस्सासिएको वातावरणलाई स्वतन्त्रतामा फर्काउने जेनजी पुस्ताको सपना अझ लोकतान्त्रिक र प्रगतिशील बन्ने विश्वास समेत व्यक्त गरिन्।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com