काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति तिखो टिप्पणी गरेका छन्।
भदौ २५ गते सामाजिक सञ्जालमार्फत हर्कले संकटको समयमा लुकेको र जिम्मेवारी अरूलाई सार्ने प्रवृत्तिका कारण देशले निकास र विकास नपाएको बताएका छन्। उनले भनेका छन्, ‘संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक, जिम्मेवारी अरूलाई सार्ने र असहज परिस्थितिको सामना गर्न नसक्ने मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले न निकास पायो न विकास।’
बुधबार हर्कले अन्तरिम सरकारको प्रमुख नियुक्तिको विषयमा जंगी अड्डा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरेका थिए। यसै प्रयाससँग सम्बन्धित बालेनले पनि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भनेका थिए, ‘अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने तपाईंहरूको जोस, सोच र इमान्दारी स्थायी नेतृत्वका लागि आवश्यक छ, अस्थायी होइन। त्यसका लागि चुनाव हुन्छ। कृपया हतार नगर्नुहोला।’
हालको ‘जेनजी’ आन्दोलनपछि उत्पन्न परिस्थितिले मुलुकलाई अस्थायी रूपमा सरकारविहीन अवस्थामा पुर्याएको छ।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया