काठमाडौं । नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी गर्न शीतल निवासले गृह मन्त्रालयलाई निर्देशन दिएको छ। आज बिहान मन्त्रालयका कर्मचारीहरूलाई स्वागत कार्यक्रमको तयारी थाल्न भनिएको हो।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन प्रमुख दलहरू र राष्ट्रपतिबीच सहमति भएपछि गृह मन्त्रालयलाई तयारी थाल्न भनिएको हो। यद्यपि, संविधानअनुसार प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा भने अझै निष्कर्ष ननिस्किएको स्रोतले जनाएको छ।
बिहीबार राति शीतल निवास पुगेकी कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने विषयमा राष्ट्रपती रामचन्द्र पौडेलले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूसँग परामर्श गरेका थिए। सो क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता वर्षमान पुन, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी थिए।
कार्कीको नाममा सहमति जुटेपछि बिहीबार राति १२ बजे नै गृह मन्त्रालयका केही कर्मचारीलाई शीतल निवास बोलाइएको थियो। यद्यपि अन्तिम सहमति नभएकाले उनीहरूलाई राति फर्काइएको थियो। तर आज बिहान फोनमार्फत नयाँ प्रधानमन्त्रीको स्वागत तयारी गर्न भनिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
प्रतिनिधिसभा सदस्य नरहेका व्यक्तिलाई प्रधानमन्त्री कसरी बनाउने भन्ने संवैधानिक प्रश्नमा भने राष्ट्रपति अझै कानुनविदहरूसँग परामर्श गरिरहेका छन्।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया