काठमाडौँ । देशैभर हिंसा, तोडफोड र लुटपाटका बीच चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफ्ना कर्मचारी र सम्पूर्ण सीजी परिवारलाई भावुक सन्देश पठाएका छन्।
हालैको घटनामा चौधरी ग्रुपका अध्यक्ष लक्षित हुनुका साथै पारिवारिक घर, उद्योग, कार्यालय र शोरूमहरूमा आगजनी तथा तोडफोड भएपछि उनले यो सन्देश जारी गरेका हुन्।
चौधरीले भनेका छन्, “दशकौँको श्रम, बलिदान र प्रतिबद्धता केही घण्टामै खरानी बनाइयो। यो केवल सम्पत्तिमाथिको आक्रमण मात्र होइन, हाम्रो आशा, विश्वास र राष्ट्रका लागि केही सार्थक बनाउने विचारमाथिको आक्रमण हो।”
तर, उनले यो कठिन घडीमा पनि कर्मचारीहरूको साहस र समर्पणलाई खुलेर प्रशंसा गरेका छन्। “आगो सल्किँदा पनि हाम्रा मान्छेहरू हार मानेनन्। तपाईंहरूकै कारण आशा अझै जीवित छ,” उनले भनेका छन्।
सन्देशमा चौधरीले आफूहरूको मनोबल घाइते र हल्लिएको भए पनि भाँचिन नसक्ने दृढता प्रकट गरेका छन्। “हाम्रो भवनमा आगो लगाउन सक्छन् तर हाम्रो सपना जलाउन सक्दैनन्। हाम्रा शो-रूमहरू लुट्न सक्छन्, तर हाम्रो मूल्यहरू लुट्न सक्दैनन्” उनले उल्लेख गरेका छन्।
उनले विगतका भूकम्प, बाढी वा महामारी जस्ता हरेक संकटमा देश र जनताका लागी अग्रपंक्तिमा उभिएको कुरा उल्लेख गर्दै भनेका छन्। “हामी फेरि बनाउनेछौँ, फेरि उठ्नेछौँ, र अझ सशक्त भएर अघि बढ्नेछौँ।”
नेपालकै सबैभन्दा ठूलो करदाता मध्ये एक र ठूलो रोजगारदाता समेत रहेको चौधरी ग्रुपमाथी जेन-जी समुहको प्रदर्शनका दिन घर, उद्योग तथा शोरुमहरुमा अराजक समुहद्वारा तोडफोड तथा आगजनी भएको थियो। जसबाट चौधरी ग्रुपको अर्बौंको क्षेतीभएको छ।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया