काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अब अपरिहार्य भएको बताएका छन्। उनका अनुसार जनताबाट मत पाउनु र विश्वास पाउनु फरक कुरा भएकाले पार्टीले आत्मसमीक्षा गर्नैपर्ने अवस्था आएको छ।
शुक्रबार सार्वजनिक भिडियो सन्देशमा उनले भने, ‘नागरिकको विश्वास किन टुट्यो भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ। विशेषगरी नयाँ पुस्ताले हामीलाई किन अस्वीकार गर्यो भन्ने कारण पहिचान गर्नुपर्छ। उत्तर खोज्ने मात्र होइन, व्यवहारमै परिवर्तन ल्याउनुपर्छ। पार्टी समय र पुस्ताको मागअनुसार अघि बढ्न नसकेको छ।’
थापाले कांग्रेसको अनुहारमा लागेको दाग ऐना पुछेर मेट्न नसकिने भन्दै सिंगो देशसँग माफी माग्नुपर्ने आवश्यकता औंल्याए। ‘यो घाउलाई काँग्रेसले आफैंले पुर्नुपर्छ,’ उनले भने।
उनले भदौ २३ र २४ गते भएका अमानवीय घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै, स्वाभाविक आक्रोशलाई स्वीकार गर्नुपर्ने तर नियतवश गरिएका आक्रमणलाई भने कानुनी दायरामा ल्याउनुपर्ने धारणा राखे। सभापति र नेतादेखि कार्यकर्तासम्म आक्रमणमा परेका थापाले स्मरण गरे।
महामन्त्री थापाले पुनर्निर्माणको अग्रसरता कांग्रेसले लिनुपर्ने बताउँदै, अहिले राष्ट्रपति, अन्य दल र आन्दोलनकारीहरूसँग लगातार संवाद भइरहेको जानकारी दिए। ‘जेनजी आन्दोलनकारीले अघि सारेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन कांग्रेसले आवश्यक पहल गरिरहेको छ,’ उनले भने।
संविधानलाई ट्रयाकमै राखेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले चेतावनी दिए, ‘संविधान एकपटक बाटोबाहिर गयो भने पुनः फर्काउन सकिँदैन।’
थापाले आज साँझसम्म नयाँ सरकार गठन हुने विश्वास समेत व्यक्त गरे।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया