काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले देशमा उत्पन्न विषम परिस्थितिको समाधान संवैधानिक प्रक्रियामार्फत गर्नुपर्ने बताएका छन्।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै दुवै सभामुखले जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई सर्वोपरि मान्दै विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने स्पष्ट पारेका छन्।

advertisement

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको जनधनको क्षतिप्रति संघीय संसद्ले गहिरो दुःख व्यक्त गरेको छ। विज्ञप्तिमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन आग्रह गरिएको छ।

सिंहदरबारभित्रका सरकारी कार्यालय, संसद् भवन, सार्वजनिक सम्पत्ति र ऐतिहासिक दस्तावेजमा भएको तोडफोड तथा क्षतिको घटनाप्रति पनि गम्भीर ध्यानाकर्षण गरिएको छ।

‘देशभर भएका घटनाले लोकतान्त्रिक मूल्य, सम्पत्ति र संस्थागत संरचनामा ठूलो क्षति पुर्‍याएको छ,’ विज्ञप्तिमा भनिएको छ।

सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालले सबैलाई संवैधानिक बाटो अपनाएर शान्तिपूर्ण तरिकाले माग अघि सार्न र लोकतान्त्रिक अभ्यासलाई थप बलियो बनाउन आह्वान गरेका छन्।

‘आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ समृद्ध र बलियो लोकतन्त्र निर्माणमा सबै प्रतिबद्ध हुन आवश्यक छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com