काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले देशमा उत्पन्न वर्तमान राष्ट्रिय सङ्कटको संवैधानिक निकास खोज्न राष्ट्रपतिलाई आग्रह गरेको छ। नेपाल चिकित्सक संघ, नेपाल शिक्षक महासंघ, नेपाल बार एसोसिएशन, नेपाल इन्जिनियर्स एशोसिएसन, नेपाल प्राध्यापक संघ र नेपाल पत्रकार महासंघलगायतका संस्थाहरू संलग्न यस सञ्जालले युवा पुस्ताले उठाएको परिवर्तन, सुशासन र भ्रष्टाचारमुक्त शासनको मागप्रति पूर्ण ऐक्यबद्धता जनाएको छ।

पापडले आन्दोलनमा घुसपैठका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। लोकतन्त्र, गणतन्त्र र सङ्घीयताजस्ता ऐतिहासिक उपलब्धिमाथि प्रश्नचिह्न खडा हुने परिस्थिति बढ्दै गएको भन्दै सञ्जालले समाधान संविधानको मर्म र दायराभित्रै खोजिनुपर्नेमा जोड दिएको छ।

advertisement

राष्ट्रपतिलाई सम्बोधन गर्दै सञ्जालले निम्न सुझावहरू अघि सारेको छः

  • संवैधानिक कर्तव्य : संविधान र संघीय संसद सक्रिय रहेको अवस्थामा राष्ट्रपतिले आफ्नो संवैधानिक भूमिका निर्वाह गर्दै संवैधानिक संरचनाको निरन्तरता सुनिश्चित गर्नुपर्ने।

  • राष्ट्रिय सरकार गठन : जेन-जी युवाहरूको सरकार परिवर्तनको मागलाई ध्यानमा राख्दै संविधानअनुसार तत्काल राष्ट्रिय सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्ने।

  • लोकतान्त्रिक मूल्यको रक्षा : संवैधानिक वैधता, अन्तर्राष्ट्रिय प्रतिबद्धता र लोकतान्त्रिक मूल्यमान्यताविरुद्धका कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी।

  • सार्वभौमिकतामाथि सतर्कता : सुशासन र भ्रष्टाचारमुक्त शासन युवा पुस्ताको जायज माग भए पनि बाह्य शक्तिको हस्तक्षेप वा गैरनागरिक सरकार गठनजस्ता खतराप्रति सचेत रहनुपर्ने।

  • उपलब्धिमा सम्झौता नगर्ने : लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समानुपातिक समावेशीकरणजस्ता ऐतिहासिक उपलब्धिमा कुनै पनि बहानामा सम्झौता स्वीकार्य नहुने।

अन्त्यमा, पापडले मुलुकलाई गम्भीर सङ्कटबाट जोगाउन, संविधानको रक्षा गर्न र गणतान्त्रिक सङ्घीय समावेशी व्यवस्थालाई जीवन्त राख्न राष्ट्रपतिलाई संवैधानिक संरक्षकका हैसियतमा आवश्यक कदम तुरुन्त चाल्न हार्दिक अपिल गरेको छ।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com