काठमाडौं । हालै सरकारविरुद्ध व्यापक प्रदर्शनको नेतृत्व गरेको ‘हामी नेपाल’ नामक संस्थाले नेपाली सेनाप्रति विशेष कृतज्ञता प्रकट गरेको छ ।
जेनजी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते देशव्यापी रूपमा सञ्चालन गरेको आन्दोलनमा जनधनको ठूलो क्षति भएपछि सुरक्षाको कमाण्ड लिनुपरेको अवस्थामा सेनाले देखाएको तत्परतालाई संस्थाले ‘देशहितको असाधारण कदम’ भनेको हो ।
सुदन गुरुङको नेतृत्वमा रहेको ‘हामी नेपाल’ले प्रधानसेनापति अशोकराज सिग्देलको नेतृत्व र भूमिकाको विशेष प्रशंसा गर्दै भनेको छ, “हामी नेपाली सधैं नेपाली सेनाप्रति ऋणी रहनेछौं ।”
सामाजिक सञ्जालमाथि सरकारको प्रतिबन्ध र व्यापक भ्रष्टाचारविरुद्ध सुरु भएको आन्दोलनलाई व्यवस्थापन गर्ने क्रममा सेनाले देश स्थिरतामुखी कदम चालेको छ ।
यही क्रममा प्रधानसेनापति सिग्देलको सक्रिय समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन गरेका छन् । संसद विघटन भइसकेको र आगामी फागुन २१ गतेका लागि मध्यावधि निर्वाचनको तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार













प्रतिक्रिया