काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले बनाएको मन्त्रिपरिषद्मा आफू सहभागी नहुने स्पष्ट पारेकी छन्।

शुक्रबार साँझ शीतल निवासमा सम्पन्न शपथग्रहण समारोहमा उपस्थित भएपछि सुमना पनि मन्त्री बन्ने सम्भावना रहेको भन्ने अड्कलबाजी चलेको थियो। तर सामाजिक सञ्जालमार्फत लाइभ गर्दै उनले सो अड्कलबाजीलाई असत्य ठहर गरिन्। ‘भ्रममा नपर्नुहोस्, म क्याबिनेटमा जान्नँ,’ उनले प्रस्ट पारिन्।

advertisement

सुमनाले हालैको आन्दोलनमा ज्यान गुमाएका युवाहरूको दाहसंस्कारसमेत नसकिएको बेला आफूले मन्त्री बन्ने कुरा अनैतिक हुने बताइन्। ‘उनीहरूको बलिदान परिवर्तनका लागि थियो। यस्तो बलिदानपछि अवसर पाएका हामीले कुर्सीको लोभ गर्नु हुँदैन, संस्कार परिवर्तनतर्फ केन्द्रित हुनुपर्छ,’ उनले भनिन्।

कार्की नेतृत्वको सरकारलाई सफलताको शुभकामना दिँदै उनले सत्ता होइन, सेवा गर्ने सोच आवश्यक रहेकोमा जोड दिइन्। ‘अब हामीले कुर्सी होइन कर्म, नाम होइन काम सोच्नुपर्छ,’ उनले भनिन्।

युवा आन्दोलनबाट आएको परिवर्तनलाई सफल बनाउन आफू पछाडिबाट सहयोग गर्न तयार रहेको बताउँदै उनले भनिन्, ‘हामी सबैको दायित्व यो परिवर्तनलाई सफल बनाउन हो, त्यसतर्फ गम्भीरतापूर्वक लाग्नुपर्छ।’

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com