काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीलाई जनतासँगको सम्बन्ध मजबुत बनाउन आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा उनले भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
भट्टराईले नेपाल फेरि संक्रमणकालमा प्रवेश गरेको उल्लेख गर्दै संसद् विघटनलाई समस्या समाधानको सही बाटो नभएको टिप्पणी गरे। उनले भने, ‘जेन–जेड पुस्ताका मागलाई संवैधानिक प्रक्रियाबाटै, संसदबाटै सम्बोधन गर्न सकिन्थ्यो। राष्ट्रपतिले अहिले जसलाई प्रधानमन्त्री बनाउनु भएको छ, उहाँलाई संसदबाट पनि प्रधानमन्त्री बनाउन सकिन्थ्यो। तर त्यसो गरिएन, संसदलाई विघटन गरिएको छ। यो सही निकास होइन।’
उहाँले संविधान र लोकतान्त्रिक प्रक्रियाको पालना नगर्दा यसको खारेजीको जोखिम रहेको र नयाँ संविधान निर्माणमा कठिनाइ आउन सक्ने चेतावनी पनि दिए। भट्टराईले थपे, ‘आगामी दिनमा संविधान र लोकतन्त्रलाई पुन: मार्गमा ल्याउन धैर्यतापूर्वक अघि बढ्नुको विकल्प छैन। प्रधानमन्त्री र राष्ट्रपतिलाई अनुरोध छ, हरेक कदम संवैधानिक होस्, हामी समर्थन गर्छौँ।’
१२ मिनेट २० सेकेन्ड लामो भिडियो सन्देशमा भट्टराईले भ्रष्टाचार, कुशासन र बेथितिको अन्त्य आवश्यक रहेको बताए। उनले पार्टीले भौतिक संरचना निर्माणमा महत्वपूर्ण योगदान गरेको स्मरण गराउँदै भने, ‘तर भ्रष्टाचार नियन्त्रणमा पर्याप्त प्रयास गर्न सकिएन। जनताको आवाज र युवा पुस्ताको आवाजलाई ठीकसँग सम्बोधन गर्न हामी कतै चुक्यौँ। यसका लागि हामी आत्मालोचना गर्छौँ र माफी माग्दछौँ। जनता नै हाम्रो आधारस्तम्भ हुन्।’
भट्टराईले पार्टीलाई गतिशील र युवा मैत्री बनाउनु पर्नेमा जोड दिँदै भने, ‘हाम्रो पार्टीमा पुरानो पुस्ता, बीचको पुस्ता र युवा पुस्ता सबै छन्। तर जेन्जी पुस्ता किन जोडिन सकेको छैन, त्यसको गम्भीर समीक्षा हुनेछ। आगामी दिनमा पार्टीको नीति र नेतृत्व युवा मैत्री बनाइनेछ।’
उहाँले पार्टीमा संरचनागत सुधार गर्दै जनमुखी, प्रगतिशील र नयाँ पुस्तालाई विश्वास दिलाउने प्रयास हुने बताए। संकटको बेला बहानाबाजी गरेर पार्टी छोड्ने प्रवृत्ति उचित नभएको भन्दै एमालेमा फर्किन अपिल गरेका छन्। भट्टराईले समाज र व्यक्तिगत रूपान्तरणको आवश्यकता आजको समयको प्रमुख चुनौती भएको पनि उल्लेख गरे।
प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार













प्रतिक्रिया