काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसद विघटन र संसद बाहिरबाट अन्तरिम सरकार गठन भएको भन्दै कडा आपत्ति जनाएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको कदम संविधानविपरीत भएको आरोप लगाए ।

विज्ञप्तिमा भनिएको छ, राष्ट्रपतिद्वारा सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकार संसद बाहिरबाट गठन भएकोले यसको हामी विरोध गर्दछौं । यसरी प्रधानमन्त्री नियुक्त गर्दा संविधानलाई मिचिएको छ।

advertisement

जनमोर्चाले सुशीला कार्की नेतृत्वको सरकारले पहिलो निर्णयका रूपमा प्रतिनिधिसभा विघटन गरेको कदमलाई पनि असंवैधानिक भन्दै विरोध जनाएको छ ।  संसद विघटन नेपाली जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण हो, विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष केसीले जेनजी आन्दोलनका मागलाई संसद विघटनसँग गाँस्नु गलत भएको दाबी गर्दै त्यसका लागि राष्ट्रपतिको अडान कमजोर देखिएको टिप्पणी गरेका छन् । उनले भने, जेनजी आन्दोलनलाई आफ्नो प्रतिगामी उद्देश्यका लागि प्रयोग गर्न राजावादीहरूले प्रयास गरे, उनीहरू पूर्ण सफल भएनन् । तर संसद विघटनले उनीहरूलाई केही मद्दत पुगेको छ।

जनमोर्चाले संसद बाहिरबाट अन्तरिम सरकार गठन र संसद विघटनबाट प्रतिगामी शक्तिहरूलाई फाइदा पुग्ने सम्भावनाबारे चिन्ता व्यक्त गर्दै गणतन्त्रका पक्षधर सम्पूर्ण राजनीतिक दललाई सचेत रहन आह्वान गरेको छ ।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com