काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले ‘जेन–जी’ आन्दोलनलाई मुलुकमा वास्तविक परिवर्तन ल्याउने महत्वपूर्ण प्रयास भएको बताए।
शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै उनले युवा पुस्ताको योगदान र बलिदानको उच्च प्रशंसा गरे। आन्दोलनका क्रममा ज्यान गुमाएका वीर सहिदहरूप्रति उनले श्रद्धाञ्जली अर्पण गरे र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे।
उनले भनेका छन्, ‘प्रिय जेन–जी, तपाईंहरूको साहस, योगदान र बलिदानले देशमा परिवर्तनको बाटो खोल्यो। वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ र भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ।’
जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले उनलाई प्रधानमन्त्रीको पहिलो रोजाइमा राखेका थिए, तर शाहले सरकार गठन प्रक्रियामा आफूलाई अलग राखेका थिए। यसै कारण, उनी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा उपस्थित देखिएका थिएनन्।
प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार













प्रतिक्रिया