काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्न लागेकी छन्। कार्यालय स्रोतका अनुसार सो अवसरका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ।
यसअघि शुक्रबार शपथ ग्रहण कार्यक्रमपछि तत्कालै पदभार ग्रहण गर्ने योजना भए पनि शपथमा ढिलाइ भएपछि कार्यसूची स्थगित भएको थियो। अब कार्की सिंहदरबार पुगेर जिम्मेवारी सम्हालेपछि विभिन्न मन्त्रालयका सचिव तथा सम्बन्धित निकायका अधिकारीहरूसँग प्रारम्भिक छलफल गर्ने अपेक्षा गरिएको छ।
गृह मन्त्रालयको नयाँ भवनलाई प्रधानमन्त्री कार्यालयका रूपमा प्रयोग गर्ने तयारी गरिएको छ। मुलुक जटिल राजनीतिक परिस्थितिबाट गुज्रिरहेको बेला कार्कीले नेतृत्व सम्हाल्ने भएकाले उनको पहिलो दिनको गतिविधिलाई विशेष चासोका साथ हेरिएको छ।
जन–जी आन्दोलनका क्रममा प्रधानमन्त्री निवास बालुवाटारमा क्षति पुगेकाले कार्की हाल आफ्नै निजी निवासमा बस्दै आएकी छन्। सरकारी निवास मर्मत सम्पन्न नहुँदासम्म त्यहाँ प्रवेश सम्भव नभएको स्रोतले जनाएको छ।
शपथ ग्रहणपछि पदभार ग्रहण गर्ने पहिलो महिला प्रधानमन्त्रीका रूपमा कार्कीको कदमलाई मुलुकभर ध्यानपूर्वक अनुगमन गरिँदैछ।
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार













प्रतिक्रिया