काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा बालबालिकामाथि हुने हिंसा, शोषण, विभेद र दुरुपयोग अन्त्य गर्दै उनीहरूको क्षमता र सिर्जनशीलतालाई प्रोत्साहन गर्नु हाम्रो साझा कर्तव्य भएको बताएकी छन्।
भण्डारीले बालबालिकालाई केवल भविष्यका कर्णधार नभइ सभ्य, समुन्नत समाज र समृद्ध नेपालको आधारशिला भएको औंल्याउँदै भनिन्, ‘उनीहरूलाई परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार र अनुशासित नागरिक बनाउने, उचित शिक्षा र सकारात्मक वातावरण प्रदान गर्नु अत्यावश्यक छ।’
उनले शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा र प्रतिभा विकासमा गरिएको लगानी नै दिगो र सुनिश्चित भविष्य निर्माणको बलियो आधार बन्ने बताइन्।
चिनियाँ दार्शनिक कन्फ्युसिएसको भनाइ स्मरण गर्दै भण्डारीले भनेकी छन्, ‘यदि तपाईंको योजना एक वर्षका लागि हो भने धान रोप्नुहोस्, दस वर्षका लागि रूख रोप्नुहोस्, र सय वर्षका लागि बालबालिकालाई शिक्षित गर्नुहोस्।’ उनले यस सन्दर्भमा बालबालिकामा लगानीले समृद्ध नेपालको सुनिश्चित भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन्।
पूर्वराष्ट्रपतिले हाम्रो संविधानले सुनिश्चित गरेका बालअधिकारलाई व्यवहारमा उतार्दै ‘बालबालिकामा लगानी’ मार्फत समृद्ध नेपालको लक्ष्य हासिल गर्ने अभियानलाई सबल र प्रभावकारी बनोस् भन्ने शुभकामना व्यक्त गरिन्।
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार













प्रतिक्रिया