काठमाडौं । हामी नेपालका संयोजक सुधन गुरुङले आफूलाई भारतीय भनेर बदनाम गर्ने गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएका छन्। आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनले म नेपालको छोरो हुँ, कुनै विदेशी होइन भन्दै आफ्नो पहिचानमाथि प्रश्न उठाउनेहरुलाई प्रष्ट जवाफ दिएका हुन्।
गुरुङले आफूलाई भारतीय, बारबरा फाउण्डेशनसँग जोडिएको, ‘फ्रि–तिब्बत’ वा ‘चाइनीज’ भन्ने जस्ता आरोपहरु निराधार रहेको दाबी गर्दै त्यस्ता प्रचारप्रति आपत्ति जनाए। “म एउटै झण्डामुनि छु, त्यो मेरो देश नेपालकै झण्डा हो, उनले भने।
उनले जेन–जी आन्दोलन सम्पूर्ण युवाको आह्वानमा भएको र आफूले पनि त्यसमा सक्रिय भूमिका खेलेको स्पष्ट पार्दै, आन्दोलन देशको परिवर्तनका लागि भएको स्मरण गराए। यो आन्दोलनमा युवाले ज्यान गुमाएका छन्, म उनीहरुको पक्षमा लडिरहेको छु, उनले जोड दिए।
संसद् विघटन गर्नुपर्ने पहिलो माग पूरा भए पनि आन्दोलनका मूल माग अझै अधुरै रहेको बताउँदै गुरुङले आन्दोलन जारी रहने घोषणा गरे। आन्दोलन म एक्लै भए पनि लड्न सक्छु, फेक प्रचार र मिडियाबाट विचलित हुँदैन, उनले दृढता प्रकट गरे।
उनले देशकै हितलाई सर्वोच्च ठानेको र कुनै व्यक्तिगत स्वार्थ नभएको पनि दोहोर्याए।
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार













प्रतिक्रिया