काठमाडाैं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले आफूलाई जेन–जी आन्दोलनको म्यान्डेटअनुसार काम गर्न नपत्याइएको गुनासो गरेका छन्। आइतबार फेसबुक लाइभमार्फत् उनले हालको विद्रोह केवल केपी शर्मा ओलीको सत्ता परिवर्तनका लागि नभई प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीतर्फ देशलाई लैजानुपर्ने जनआकांक्षासहितको आन्दोलन भएको बताए।
सम्पाङ गृहमन्त्री पदको आकांक्षी रहे पनि अन्ततः सो जिम्मेवारी नपाएकोमा असन्तुष्टि प्रकट गरे। उनले आफू भ्रष्टाचार र बेथितिविरुद्ध दृढ भएर बोल्ने स्वभावका कारण कतिपयलाई असहज लाग्ने र त्यसैले अवसर नदिइएको हुनसक्ने टिप्पणी गरे।
‘म भ्रष्टाचारको ‘भ’ पनि उच्चारण गर्न चाहन्नँ। म कानुन र नियम पालना गर्नुपर्ने मान्छे हुँ। यही कारणले मलाई मिलाउन गाह्रो पर्यो,’ उनले भने।
सम्पाङले हालको आन्दोलनले पुरानै संसदीय संरचनालाई ढालेर मात्र सीमित हुन नहुने बताए। उनका अनुसार यो विद्रोह आमूल राजनीतिक परिवर्तनको म्यान्डेट बोकेको छ, जसअनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने समय आएको छ।
‘फागुनमा चुनाव भए पनि पुरानै दलहरू फर्किन्छन् र फेरि पुरानै अस्थिरताको चक्र दोहोरिन्छ। त्यसैले अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिलाई देश सञ्चालन गर्ने अधिकार दिनुपर्छ,’ उनले स्पष्ट पारे।
उनले आन्दोलनमा निहित स्वार्थ बोकेर खेल्ने शक्तिहरू पनि देखिएको बताउँदै विदेशी हस्तक्षेप अस्वीकार्य हुने बताए। ‘नेपाल कुनै विदेशीको रणमैदान बन्नु हुँदैन। सार्वभौमसत्तामा सम्झौता गरेर अघि बढ्न मिल्दैन,’ उनले भने।
सम्पाङले नयाँ राजनीतिक दलहरू उदाउने संकेत दिँदै आफू पनि दल खोल्ने तयारीमा रहेको खुलासा गरे। ‘म पनि दल खोल्छु। जनताले चाहनुभयो भने त्यो दललाई जनादेश दिनुपर्छ’ उनले जोड दिए।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया