काठमाडाैं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूले आजै पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११:३० बजे सपथ कार्यक्रम तय भएको राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले जानकारी दिएको छ।
अहिलेसम्म तीन जना मन्त्रीको नाम पक्का भएको छ। अधिवक्ता ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रालय, रामेश्वर खनाललाई अर्थ मन्त्रालय र कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ।
लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख नियुक्त गरिएको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेर चर्चामा आएका अर्याल जनहितका विभिन्न मुद्दामा सक्रिय कानुन व्यवसायी हुन्। हाल उनी काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकारसमेत छन्। अन्तरिम सरकार गठन प्रक्रियामा पनि उनी प्रत्यक्ष संलग्न थिए।
त्यस्तै, पूर्वअर्थसचिव खनाल उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका हैसियतले हालै ओली सरकारले पाएको ४४७ पृष्ठ लामो प्रतिवेदनमार्फत अर्थतन्त्र सुधारका ठोस उपाय सिफारिस गरेका थिए।
ऊर्जा मन्त्रालय सम्हाल्न लागेका घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्। उनले आफ्नो कार्यकालमा नेपाललाई लोडसेडिङमुक्त बनाएपछि जनस्तरमा अत्यन्त लोकप्रिय बनेका थिए। तर केही महिनाअघि केपी ओली नेतृत्वको सरकारले उनलाई प्राधिकरणबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।
यससँगै अन्तरिम सरकारको औपचारिक कामकारबाही आजदेखि पूर्ण रूपमा सुरू हुने भएको छ।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया