काठमाडौं । ‘जेनजी’ आन्दोलनका कारण केही दिन अवरुद्ध भएको खानेपानी मन्त्रालयको कामकाज सोमबारदेखि नियमित रूपमा सञ्चालनमा आएको छ।
मन्त्रालयका सहसचिव रामबाबु पुरीका अनुसार भदौ २३ गतेको प्रदर्शनपछि २७ गतेसम्म मन्त्रालय र मातहतका निकायको काम स्थगित भएको थियो। परिस्थिति सामान्य बन्दै गएपछि आजदेखि सम्पूर्ण कामकाज पुनः सञ्चालनमा आएको उनले जानकारी दिए।
सो प्रदर्शनका क्रममा मन्त्रालयसँग सम्बन्धित १४ वटा सवारीसाधन पूर्ण रूपमा जलेका छन् भने थप ६ वटा गाडीमा तोडफोड भएको पुरीले बताए। “मन्त्रालयको भवनमा ठूलो क्षति नभए पनि गाडीहरूमा क्षति पुगेको छ। विस्तृत विवरण आउन बाँकी छ,” उनले भने।
सिंहदरबारका धेरै भवन आगलागीबाट प्रभावित भए पनि खानेपानी मन्त्रालय भने जोगिएको अधिकारीहरूले जनाएका छन्। यसले नियमित काम सुरु गर्न सहज भएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर कमलराज श्रेष्ठले बताए। उनका अनुसार विभागको कार्यालयमा प्रत्यक्ष क्षति नभए पनि केही गाडी मात्र क्षतिग्रस्त भएका छन् र विभागको काम सामान्य रूपमा सञ्चालन भइरहेको छ।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया