काठमाडौं । भदौ २३ र २४ गते भएको ‘जेन–जी’ नेतृत्वको विद्रोहपछि तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पदबाट बाहिरिन बाध्य भए। अहिले पनि उनी सेनाको सुरक्षा घेराभित्र रहेका कारण पार्टी गतिविधिमा सक्रिय हुन सकेका छैनन्। यसले गर्दा एमालेभित्र नेतृत्वविहीनताको अनुभूति बढ्दै गएको छ।
विद्रोहका क्रममा एमालेका केन्द्रीय कार्यालयसहित विभिन्न जिल्लास्थित पार्टी कार्यालयहरू जलाइए, अनेकौं नेता–कार्यकर्ताका घरमा तोडफोड र आगजनी भयो। वडाध्यक्षदेखि शीर्ष तहका नेतासम्म प्रभावित भएका कारण पंक्तिभित्र मनोबल खस्किएको छ। आफ्नै घर–सम्पत्ति गुमाएका कार्यकर्ताले पार्टीलाई अभिभावकविहीन महसुस गरिरहेका छन्।
यद्यपि महासचिव शंकर पोखरेलले भर्चुअल संवादमार्फत प्रदेश र जिल्ला अध्यक्षलाई सम्बोधन गर्दै ढाडस दिने काम थालेका छन्। उनले क्षतिग्रस्त सम्पत्ति तत्काल सरसफाइ नगरी सरकारी अभिलेखमा दर्ता गराउन आग्रह गरेका छन्। तर, नेतृत्वमाथि प्रत्यक्ष आलोचना नगर्न समेत उनले आग्रह गरेको सहभागीहरूले बताए।
पार्टीभित्र भने ओलीको भविष्यबारे गम्भीर अन्योल देखिएको छ। धेरै नेताहरू ओलीको नेतृत्वमा अब पार्टी उठ्न नसक्ने धारणा राख्छन् । उपाध्यक्ष सुरेन्द्र पाण्डेले भदौ २४ गतेमै राजीनामा माग्दै, बानेश्वरमा भएको मानवीय क्षतिको नैतिक जिम्मेवारी लिनुपर्ने बताएका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले त्यही दिन राजीनामा दिए पनि परिस्थिति साम्य हुन सकेन। प्रशासनिक केन्द्रदेखि राष्ट्रपति र प्रधानमन्त्री निवाससम्म कब्जा र आगजनी भएपछि पार्टी नेतृत्व नै प्रश्नमा पर्यो।
उपाध्यक्ष युवराज ज्ञवालीले समेत “राज्य सञ्चालनको जिम्मेवारी लिएका बेला जनताको जीवन–सम्पत्ति जोगाउन नसकेको भन्दै यस घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताए। उनले पार्टीलाई पुनर्गठन गरेर कार्यशैली सुधार्नुपर्ने धारणा राखे। सचिव योगेश भट्टराईले पनि आत्मालोचना गर्दै संगठनलाई लोकतान्त्रिक र पारदर्शी ढंगले पुनर्गठन गर्नुपर्नेमा जोड दिए।
संस्थापन पक्षका स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटाले समेत “अब सुविचारित निर्णय गरेर पार्टीलाई पुनर्गठन गर्नु आवश्यक छ भन्दै नेतृत्व परिवर्तन अनिवार्य हुने संकेत दिएका छन्। उनका अनुसार नेतृत्व बदलिनु समय र प्रकृतिको नियम हो, यसलाई स्वीकार गर्नैपर्छ।
पार्टीभित्रको असन्तुष्टि यति गहिरो बनेको छ कि धेरै नेताले आउँदो निर्वाचन ओलीको नेतृत्वमा सम्भव नहुने बताएका छन्। उनीहरूको भनाइमा अहिलेको असन्तुष्टिको मूल जड ओली नै भएकाले उनलाई अघि सार्दा एमालेलाई परिणाम हात लाग्दैन।
ओलीको राजनीतिक यात्रा तीन पटक असफलतापूर्ण ढंगले सत्ता त्याग्न बाध्य भएको छ। पहिलो पटक २०७३ साउनमा अविश्वास प्रस्ताव दर्ता भएपछि, दोस्रो पटक सर्वोच्चको परमादेशपछि, र तेस्रो पटक हालैको ‘जेन–जी’ विद्रोहका कारण। पार्टी विधान महाधिवेशनमार्फत आफूलाई निर्विकल्प बनाएका ओलीलाई यो विद्रोहले पार्टीभित्रै नेतृत्व परिवर्तनको दबाबमा ल्याइदिएको छ।
यसरी ‘जेन–जी’ आन्दोलनले ओलीलाई प्रधानमन्त्री मात्र नभई एमालेको नेतृत्वमै चुनौती खडा गरेको छ। पार्टीभित्र अबको बहस पुनर्गठन र नयाँ नेतृत्व चयनतर्फ मोडिएको छ।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया