काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका १० जनाको आज अन्त्येष्टि गर्ने तयारी गरिएको छ। तीमध्ये ९ जना त्रिवि शिक्षण अस्पतालमा र १ जना पाटन अस्पतालमा रहेका छन्।
अन्त्येष्टिपूर्व उनीहरूको शवलाई शववाहनमार्फत नगर परिक्रमा गराउने तयारी गरिएको छ, मृतकमध्ये एकका आफन्तले जानकारी दिएका छन्। यसअघि आन्दोलनमा निधन भएका केहीको अन्त्येष्टि भइसकेको भए पनि आज थप १० जनाको दाहसंस्कार गरिन लागिएको हो।
सरकारले आन्दोलनका क्रममा ज्यान गुमाएका मृतकलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ। नव नियुक्त गृह, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गर्दै मृतकहरूलाई शहीद घोषणा गर्ने र राष्ट्रिय सम्मानमा अन्त्येष्टि गर्ने बताएका थिए।
त्यसअनुसार, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र ५ लाख रुपैयाँ अन्य खर्चका लागि गरी जम्मा १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
अर्थ मन्त्रालयले यो रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत मृतक परिवारलाई हस्तान्तरण गर्ने बताइएको छ।
जेनजी आन्दोलनमा हालसम्म ७२ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ।
प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार












प्रतिक्रिया