सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले जेन-जी आन्दोलन कुनै एक पार्टी वा नेताविरुद्ध मात्र नभई सम्पूर्ण देश र व्यवस्थाविरुद्ध भएको दाबी गरेका छन्।
मंगलबार एमाले सुर्खेतले जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले आन्दोलनपछिका घटनाक्रमले पनि त्यसलाई पुष्टि गरेको बताए। उनले जेन–जी आन्दोलनलाई केवल कांग्रेस–एमाले गठबन्धन सरकारविरुद्धको प्रदर्शन भनेर बुझ्दा ठूलो गल्ती हुने र उपलब्धिहरू गुम्ने चेतावनी दिए।
‘दलका कार्यालय, सरकारी निकाय, नेताका घर मात्र जलेनन्, संविधानका धारा समेत मिचिए, कँडेलले भने, ‘अब पनि हामी होसियार नबने मुलुककै अस्तित्व संकटमा पर्न सक्छ।’ उनले पार्टी संरचना र सदस्यहरूलाई परिस्थितिबारे सचेत पार्दै अन्य दलसँग छलफल गरी साझा धारणा बनाउनुपर्नेमा जोड दिए।
उनले आन्दोलन सुरु हुँदा कतिपय दल र नेताहरू मौन रहँदा प्रतिगामी शक्तिले उनीहरूलाई समेत नछोडेको उदाहरण देखिएको उल्लेख गरे। २०७२ को संविधान अर्धमुर्छित अवस्थामा पुगेको छ। सामान्य अवस्थामा अदालतले त्यसलाई जोगाउन सक्थ्यो तर अहिले त्यो सम्भावना कमजोर छ, उनले भने।
मुख्यमन्त्री कँडेलले आफ्ना कमी–कमजोरी सच्याउन, जनविश्वास जित्न आआफ्नो ठाउँबाट राम्रो काम गर्न र पार्टी कमिटीमा आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार यस्ता अभ्यासले पार्टीलाई सुदृढ गर्ने मात्र होइन, लोकतान्त्रिक व्यवस्था जोगाउन समेत हौसला दिनेछ।
प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया