एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ७४ औं जन्मदिनको शुभकामना दिएका छन्। राष्ट्रपति ट्रम्पले मंगलबार प्रधानमन्त्री मोदीलाई सबैभन्दा पहिले फोनमार्फत जन्मदिनको शुभकामना दिएका हुन् ।

ट्रम्पले मंगलबार राति आफ्नो सोशल मिडिया प्लेटफर्म ट्रुथ मा लेखेका छन्,’अहिले मात्र मेरो साथी, प्रधानमन्त्री नरेन्द्र मोदीसँग धेरै राम्रो कुराकानी भयो। मैले उनलाई जन्मदिनको शुभकामना दिएँ। उनी अद्भुत काम गरिरहेका छन्। रूस–युक्रेन युद्ध अन्त्य गर्न भारतको सहयोगका लागि धन्यवाद।’

advertisement

मोदीले पनि सामाजिक सञ्जाल एक्समा मा प्रतिक्रिया दिंदै भने,’धन्यवाद, मेरा मित्र, राष्ट्रपति ट्रम्प। तपाईंको फोन र बधाईले मलाई खुशी दियो। भारत–अमेरिका साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता म पनि राख्छु।’

उनीहरुबीचको यो वार्ता भारतमाथि अमेरिकाले ३५प्रतिशत अतिरिक्त कर लगाएपछि भएको पहिलो उच्चस्तरीय वार्ता हो। गत अगस्टमा अमेरिकाले रूसबाट तेल खरिद गरेको भन्दै भारतका सामानमा ३५प्रतिशत कर थपेको थियो। त्यसपछि दुई देशबीचको सम्बन्धमा तिक्तता आएको थियो।

यद्यपि, मंगलबार अमेरिकी प्रतिनिधि ब्रेन्डन लिंच र भारतीय अधिकारी राजेश अग्रवालबीच द्विपक्षीय व्यापार सम्झौताबारे करिब तीन घण्टा छलफल भएको छ। दुबै पक्षले वार्तालाई ‘सकारात्मक’ भनेका छन् र आगामी बैठक भर्चुअल मोडमा हुने बताइएको छ।

पछिल्ला केही हप्तामा ट्रम्पले पटक–पटक मोदीलाई आफ्नो ‘मित्र’ भन्दै आएका छन्। उनले हालैको एक पोस्टमा भनेका थिए, ‘भारत–अमेरिका बीच व्यापार अवरोध हटाउनेबारे वार्ता भइरहेको छ र छिट्टै सकारात्मक नतिजा आउनेछ भन्ने मलाई विश्वास छ।’

तर अमेरिकाले कर हटाउन भारतलाई तीन शर्त अघि सारेको छ( रूसबाट तेल खरिद बन्द गर्ने, चीनसँगको दूरी बढाउने र अमेरिका तथा डलरप्रति स्पष्ट समर्थन गर्ने। अन्यथा भारतले अतिरिक्त कर तिर्नुपर्ने अमेरिकी उद्योग मन्त्रीले चेतावनी दिएका छन्।

यता, भारतीय वाणिज्य मन्त्री पीयूष गोयलले भने सम्बन्ध चाँडै सुधार हुने विश्वास व्यक्त गरेका छन्। उनले एक अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा भने, ‘मलाई आशा छ कि चीजहरू छिट्टै सही मार्गमा फर्किन्छन् र हामी नोभेम्बरसम्ममा द्विपक्षीय व्यापार सम्झौतालाई अन्तिम रूप दिनेछौँ।’

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com