काठमाडौं । एमाले वरिष्ठ नेता शंकर पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत विचार सार्वजनिक गर्दै उनले त्यसको आवरणमा भइरहेको प्रतिगमनकारी गतिविधि र विध्वंसको विरोध गर्नुपर्ने बताए।
पोखरेलले पार्टी गतिविधि नयाँ पुस्ताको विश्वास जित्ने गरी अघि बढाउनुपर्ने उल्लेख गर्दै जनतासँगको सम्बन्धलाई जीवन्त र घनिष्ठ बनाउन जोड दिए। जनपक्षीय जीवनशैली र आचरणमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।
आन्तरिक एकता मजबुत बनाउँदै पार्टी पंक्तिको मनोबल उच्च राख्नुपर्नेमा उनले बल दिए। संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न जागरूक रहनु आवश्यक रहेको उनको भनाइ छ।
लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य र सम्बन्ध सुदृढ गर्नुपर्नेमा जोड दिँदै पोखरेलले जबजको जगमा उभिएको पार्टी र आन्दोलनले वर्तमानका चुनौतीलाई सम्बोधन र समाधान गर्न सक्षम हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार













प्रतिक्रिया