काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले जेन–जी आन्दोलनका कारण नेपाली युवाहरू बेरोजगार हुने अवस्था सिर्जना भएको दाबी गरेका छन्। उनले आन्दोलनले देशको रोजगारी, रेमिट्यान्स, र सामाजिक स्थायित्वमा नकारात्मक असर पारेको बताएका छन्।
बस्नेतले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, “विदेशी श्रम बजारका प्रमुख गन्तव्य दुबई र कोरियाले नेपालीलाई भिजिट भिसा र वर्किङ भिसा रोकेको जानकारी आएको छ, जसले हजारौं कामदार र उनका परिवारलाई असर पार्नेछ।”
उनका अनुसार, यस कदमले रोजगारी खोजिरहेका युवामा निराशा बढाउनुका साथै देशको रेमिट्यान्स आयमा पनि गिरावट ल्याउने सम्भावना छ।
बस्नेतले वर्तमान अवस्थालाई चित्रण गर्दै भनेका छन्, “भुइँको टिप्न जाँदा पोल्टाको खस्ने जस्तो अवस्था भएको छ।” उनले अब अपेक्षित अवसरहरू नपाउँदा युवामा आक्रोश बढ्ने निश्चित रहेको पनि चेतावनी दिएका छन्।
उनको अभिव्यक्ति जेन–जी आन्दोलनप्रति प्रत्यक्ष आलोचनाको रूपमा आएको छ, जुन आन्दोलनले हालैका महिनाहरूमा नेपालमा युवा आन्दोलन, विरोध, र श्रम नीतिको समीक्षा गरिरहेको छ।
प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार












प्रतिक्रिया