काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अक्टोबरको अन्त्यतिर दक्षिण कोरियामा हुने एशिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) सम्मेलनमा भेट हुने र आगामी वर्षको सुरुतिर चीन भ्रमण गर्ने घोषणा गरेका छन्।
समाचार संस्था एपीका अनुसार, शुक्रबार दुई नेताबीच भएको लामो टेलिफोन वार्तापछि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सो जानकारी दिएका हुन्। उनले सी ‘उपयुक्त समयमा’ अमेरिकाको भ्रमणमा आउने अपेक्षा व्यक्त गर्दै, लोकप्रिय एप टिकटक सम्बन्धी सम्झौतामा प्रगति भएको दाबी गरेका छन्। तर त्यसको विस्तृत विवरण भने उनले खुलाएका छैनन्।
तर चिनियाँ पक्षले सार्वजनिक गरेको वक्तव्यमा भने ट्रम्पले बताएझैं भ्रमण र टिकटक विवाद समाधानबारे कुनै स्पष्ट उल्लेख गरिएको छैन। वक्तव्यमा सीले मात्र व्यापारिक सम्बन्धमा तनाव नबढाउन र नयाँ प्रतिबन्ध नलगाउन ट्रम्पलाई आग्रह गरेको जानकारी दिइएको छ।
दुवै नेताबीचको वार्ताले द्विपक्षीय सम्बन्ध सहज बनाउन प्रयास भएको संकेत देखाए पनि उनीहरूको वक्तव्यले चीन–अमेरिकाबीच विद्यमान गहिरा असहमति लुकाउन सकेको छैन।
वार्तापछि ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै, ‘वार्ता निकै राम्रो भयो, हामी फेरि पनि कुरा गर्नेछौं। टिकटक सम्झौतामा प्रगति भएको छ, एपीईसीमा भेट्न उत्साहित छु,’ भनेका छन्। उनले सीलाई ‘एक सज्जन’ को संज्ञा दिँदै टिकटकमा लगानी गर्न अमेरिकीहरू उत्सुक रहेको पनि बताएका छन्। तर टिकटकको एल्गोरिदम स्वामित्वबारे भने ट्रम्प अझै स्पष्ट हुन सकेका छैनन्।
एपीका अनुसार, टिकटकको मातृ कम्पनी बाइटडान्स ले संयुक्त वक्तव्य जारी गर्दै दुवै नेताप्रति आभार व्यक्त गरेको छ। उसले अमेरिकी प्रयोगकर्ताका लागि सेवा निरन्तर रहोस् भन्ने उद्देश्यले वार्ताप्रति रुचि देखाएको तर स्वामित्वबारे ठोस प्रगति अझै नभएको स्पष्ट पारेको छ।
ट्रम्प प्रशासनले हालै म्याड्रिडमा भएको व्यापार वार्तामा चिनियाँ अधिकारीहरूसँग टिकटक स्वामित्वबारे प्रारम्भिक सहमति भएको जनाएको छ। ट्रम्पले आफ्नो दोस्रो कार्यकालको चुनावी अभियानमा पनि टिकटकले ठूलो भूमिका खेलेको भन्दै एपलाई चिनियाँ स्वामित्वबाट अलग गर्न निरन्तर दबाब दिँदै आएका छन्। यस क्रममा उनले समयसीमा पटक–पटक लम्ब्याएका छन्।
अमेरिकाले गत वर्ष पारित गरेको कानुनअनुसार विदेशी स्वामित्व भएका एपहरूले तथ्यांक सुरक्षा र राष्ट्रिय हितमा चुनौती दिन सक्ने भन्दै निगरानी बढाइएको छ। अमेरिकी अधिकारीहरू चीनका कानुनले चिनियाँ कम्पनीलाई सरकारलाई डेटा बुझाउन बाध्य पार्ने भएकाले बाइटडान्सप्रति गहिरो शंका गर्दै आएका छन्।
चिनियाँ अधिकारीहरूले भने सोमबार एल्गोरिदमसहित बौद्धिक सम्पत्ति अधिकारको प्रयोगमा सहमति भएको दाबी गरेका छन्। साथै अमेरिकी प्रयोगकर्ताको डेटा र सामग्री सुरक्षाको जिम्मेवारी दुवै पक्षले साझेदार मार्फत सुनिश्चित गर्ने सहमति भएको जनाएका छन्।
प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार













प्रतिक्रिया