रौतहट । प्रहरीले रौतहटको इशनाथ नगरपालिका–८ मोतिपुर सडक खण्डमा तरकारी ओसार्ने गाडीबाट ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ।
शनिबार साँझ करिब साढे सात बजे, प्रदेश–३–०१–०२२ च १८६१ नम्बरको पिकअप भ्यानलाई प्रहरी चौकी रामपुरखापको टोलीले चेकजाँच गर्दा ३३४ केजी गाँजा फेला परेको डीएसपी राजु कार्कीले जानकारी दिएका छन्।
चेकजाँचको क्रममा गाडीको माथिल्लो भागमा २० बोरा फूलकाउली देखिने गरी राखिएको थियो, तर तल २६ पोका गाँजा लुकाइएको अवस्थामा भेटिएको थियो। बरामद गाँजामध्ये १५ केजी तौलका १९ पोका र ७ केजी तौलका ७ पोका समावेश छन्।
गस्ती टोली देखेपछि गाडी चालक फरार भएका थिए। प्रहरीले भ्यान नियन्त्रणमा लिएको छ र फरार चालक तथा अन्य संलग्न तस्करको खोजी कार्य भइरहेको छ।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया