काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादशैँ आजदेखि प्रारम्भ भएको छ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वादशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

advertisement

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवादशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।

जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रूपमा समेत प्रयोग गरिन्छ ।

घटस्थापनाको साइत  ०९ः१३ बजे

आजैका दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

आज घटस्थापनाको साइत बिहान ०९ः१३ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए।

दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ।

 

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com