काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमेरिकाले आणविक हतियार त्याग्न दबाब नदिए मात्र वार्तामा बस्न सकिने स्पष्ट पारेका छन् ।
संसद्मा सम्बोधन गर्दै किमले अमेरिकाले निरन्तर आणविक निशस्त्रीकरणको अडान राख्नु बेतुक भएको टिप्पणी गरे । उनले शान्तिपूर्ण सहअस्तित्वलाई स्वीकार गर्न वाशिङ्टनलाई आग्रह गर्दै भने, ‘यदि अमेरिकाले आणविक निशस्त्रीकरणको अवास्तविक सपना त्याग्छ र यथार्थ बुझेर सहअस्तित्व चाहन्छ भने वार्ता हुन नसक्ने कुनै कारण छैन ।’
किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटलाई अझै मीठो सम्झनाका रूपमा लिने गरेको पनि बताए । दक्षिण कोरियाली समाचार संस्था केसीएनएका अनुसार उनले भने, ‘व्यक्तिगत रूपमा ट्रम्पसँगको भेट सम्झना अझै ताजा छ।’
गत महिना ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङसँगको भेटमा आफू किमसँग यसै वर्ष पुनः भेट्न सक्ने संकेत दिएका थिए । उनले किमको बहिनीपछि आफू मात्र उनलाई नजिकबाट चिनेको दाबी समेत गरेका थिए ।
ट्रम्पको पहिलो कार्यकालमा दुवै नेताबीच तीन पटक शिखर बैठक भए पनि अमेरिकाले आणविक निशस्त्रीकरणको अडान नछाड्दा वार्ता निष्कर्षविहीन भएको थियो ।
संयुक्त राष्ट्रसंघको कठोर प्रतिबन्धबीच पनि उत्तर कोरियाले आफ्नो आणविक र मिसाइल कार्यक्रमलाई निरन्तर अघि बढाइरहेको छ । दक्षिण कोरियाली अधिकारीहरूको दाबीअनुसार उत्तर कोरिया हरेक वर्ष १५ देखि २० आणविक हतियार थपिरहेको छ ।
संसद्मा किमले प्रतिबन्धले आफ्नो देशलाई अझ बलियो र आत्मनिर्भर बनाएको दाबी गर्दै भने, ‘यदि प्रतिबन्ध हटाउने लोभमा हामी शत्रुसँग केही साटासाट गर्न खोज्यौं भने वार्ता कहिल्यै हुनेछैन, अनन्तसम्म पनि हुनेछैन।’
हाल उत्तर कोरियामा करिब २ करोड ६० लाख जनसंख्या खाद्य संकटको सामना गरिरहेको विभिन्न प्रतिवेदनहरूले उल्लेख गरेका छन् ।
प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार













प्रतिक्रिया